पत्रकार खासोग्जिको हत्यामा संलग्न ५ जनालाइ फाँसिको सजाय तीन जनालाइ २४ बर्ष जेल

गृहपृष्ठ
पत्रकार खासोग्जिको तस्विर

आर डि क्रीएशन/ २३ डिसेम्बर, कुवेत। पत्रकार जमाल खासोग्जीको हत्या गरेको अभियोगमा साउदी अरेबियाको अदालतले पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।

गत वर्ष टर्कीको इस्तानबुलमा रहेको साउदी महावाणिज्य दूतावासमा भएको खासोग्जीको हत्यामा साउदीको एक अदालतले  सोमबार ११  जनालाई दोषी ठहर्‍याएको हो।

तीमध्ये पाँच जनालाई मृत्युदण्ड, तीन जनालाई २४ वर्ष कैद सजाय सुनाइएको छ।

साउदी सरकारका कडा आलोचक रहेका खासोग्जीको हत्यामा युवराज मोहम्मद बिन सलमानको समेत हात रहेको हुन सक्ने आशंका गरिएको थियो। अमेरिकी पत्रिकाहरूमा कोलम लेख्ने खासोग्जीको हत्यापछि अन्तर्राष्ट्रिय संस्थाहरूले गम्भीर चासो व्यक्त गरेका थिए।

भएको के थियो?

सन् २०१८ अक्टोबर २ तारिख, स्थानीय समयअनुसार दिउँसो सवा १ बजे हटिजिया सेन्गिज आफ्ना हुनेवाला श्रीमानको हात समातेर टर्की, इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावास पुगिन्। टर्किस नागरिक सेन्गिजलाई बाहिरै राखेर ५९ वर्षीय पत्रकार खासोग्जी भित्र छिरे।

पूर्वपत्नीसँग सम्बन्धविच्छेदको कागज लिन खासोग्जी अघिल्लो पटक सेप्टेम्बर २८ मा महावाणिज्य दूतावास पुगेका थिए। कर्मचारीले उनलाई अक्टोबर २ मा आउन भने। एक वर्षदेखि स्वनिर्वासनमा रहेका खासोग्जीले कर्मचारीका कुरा पत्याए। 

उनलाई साढे १ बजेको समय दिइएको थियो। तर उनी १५ मिनेट अघि नै गेटभित्र छिरे। सायद उनी हतारमा थिए- सम्बन्धविच्छेदको कागज लिएर भोलिपल्टै सेन्गिजसँग बिहे गर्दै थिए।

३६ वर्षीया सेन्गिजले धैर्यपूर्वक हुनेवाला श्रीमानलाई साउदी महावाणिज्य दूतावासमा घन्टौं कुरिन्। साँझ पर्‍यो। अँध्यारो भयो। खासोग्जी बाहिर निस्केनन्।

सायद खासोग्जीलाई पनि त्यो दिनको संकटको पूर्वानुमान थियो। छुट्टिने बेला उनले सेन्गिजलाई भनेका थिए, ‘केही भयो भने यो नम्बरमा फोन गर्नू।’ 

त्यो नम्बर राष्ट्रपतिका एक सल्लाहकारको थियो। 

टर्किस राष्ट्रपति रेसेप तेयिप इर्डोगनसँग खासोग्जीको खास सम्बन्ध थियो। सेन्गिजले खासोग्जी महावाणिज्य दूतावासबाट हराएको भन्दै उनले दिएको नम्बरमा फोन गरिन्।

सेन्गिजकोत्यो फोनले खासोग्जीलाई फिर्ता त ल्याएन। तर संसारलाई भने त्यो खबरले तरंगित पार्‍यो। 

खासोग्जी पछिल्लो समय अमेरिका बस्थे। वासिङ्टन पोष्ट पत्रिकामा स्तम्भ लेख्थे। साउदी अरेवियाका शासकका कटु आलोचक थिए। 

खासोग्जी हराएको खबर चारैतिर फैलियो। 

धेरैले सुरूमै आशंका गरे- साउदी राजकुमार मोहम्मद बिन सलमानको निर्देशनमा खासोग्जीको हत्या भयो।

साउदी अरेबियाले ती आशंका खण्डन गर्‍यो। उनको हत्या लुकाउन खोज्यो। 

उनी महावाणिज्य दूतावास छिरेको तर केहीबेरमै उनी त्यहाँबाट निस्केको झुटो प्रचार गर्यो। 

टर्कीले साउदी महावाणिज्य दूतावासभित्रै खासोग्जीको हत्या भएको खबर ‘लिक’ गर्‍यो। त्यसले संसारभर सनसनी मच्चायो। 

त्यसयता खासोग्जीको क्रुर हत्याका अनेक पाटा खुलेका छन्।

उनी टर्की आएकै दिन साउदीका १५ जना एजेन्ट चार्टड विमान लिएर रियादबाट इस्तानबुल पुगेका थिए। उनीहरू विमानस्थलबाट होटल गए। खासोग्जी आउनुअघि नै महावाणिज्य दूतावास छिरेर उनलाई पर्खिएर बसे। 

टर्किस अधिकारीहरूले त्यो दिन साउदी महावाणिज्य दूतावासभित्र भएको घटनाको अडियो रेकर्डका केही अंश ‘लिक’ गरे। 

त्यो अडियोका अनुसार राजकुमार सलमानका सल्लाहकार तथा विश्वासपात्र साउद-अल खतानीले स्काइपमार्फत् रियादमा बसेर खासोग्जी हत्याको नेतृत्व गरेका थिए।

महावाणिज्यदूतका एक अधिकारीले दूतावासभित्र यस्तो नगर्न ती एजेन्टलाई भनेका थिए। तर उनीहरूले साउदी गएर बाँच्न मन भए चुप लाग्न चेतावनी दिए।

खासोग्जी दूतावासभित्र पस्नेबित्तिकै साउदी एजेन्टहरूले उनलाई नियन्त्रणमा लिएको आशंका छ। त्यसपछि खतानीले उनलाई स्काइपबाट गाली गरे। उनको हातका औंला काटिए। त्यसपछि यातना दिँदादिँदै उनको हत्या गरियो। 

एक टर्किस अधिकारीका अनुसार स्काइपमा खतानीले खासोग्जीबारे आफ्ना एजेन्टहरूलाई निर्देशन दिए- मलाई त्यो कुत्ताको टाउको चाहिन्छ। 

उनको लास टुक्राटुक्रा पारेर एजेन्टहरूले लिएर गएको विश्वास गरिन्छ।

राजकुमार सलमानका विश्वासपात्र खतानीले राजकुमारको निर्देशनमा यसअघि पनि ‘हाई प्रोफाइल’हरूविरूद्ध अकल्पनीय अपराध गरेका छन्। 

लेबनानका प्रधानमन्त्री साद हरिरीलाई  पनि उनले बन्दी बनाएका थिए। कूटनीतिक अधिकारीहरूका अनुसार नोभेम्बर २०१७ मा खतानीले साउदी राजाले भेट्न चाहेको भन्दै हरिरीलाई बोलाएका थिए। तर उनलाई एउटा कोठामा लगेर बन्दी बनाए। कुटपिट गरे र पदबाट राजीनामा दिन लगाए। यो कुरा फ्रान्सले थाहा पायो। राष्ट्रपति इमान्युएल म्याक्रोले हस्तक्षेप गरे। हरिरी रियादबाट फ्रान्स उडे।

खासोग्जी हत्याको नेतृत्व खतानीले गरे पनि यसमा साउदी राजकुमारको हात रहेको धेरैको आशंका छ। राजकुमारको सहमति वा निर्देशन बिना यति ठूलो हत्या त्यो पनि विदेशी भूमिमा खतानीले मात्र गर्न नसक्ने धेरैको तर्क छ।

केही महिनाअघि अर्कै प्रसंगमा ट्वीट गर्दै खतानीले लेखेका थिए- तपाईं कुनै निर्देशनबिना म निर्णय गर्छु भन्ने सोच्नुहुन्छ? म एक कामदार हुँ, म  मेरा भगवानजस्ता राजा र राजकुमारका आदेशको पालना गर्छु।

राष्ट्रपति इर्डोगनका मित्रसमेत रहेका खासोग्जीले ३५ वर्ष पहिला पत्रकारिता थालेका थिए। सुरूमा उनी साउदी गजेट पत्रिकाको संवाददाता बने। सन् १९९१ मा उनी अल मदिना पत्रिकाको कार्यकारी सम्पादक बने। सो पत्रिकामा उनले सन् १९९९ सम्म विदेश मामलाको रिपोर्टिङ पनि गरे।

उच्च खानदानी परिवारका खासोग्जीको साउदी राजपरिवारसँग घनिष्ट सम्बन्ध थियो। उनले केही समयसम्म साउदी सरकारको सल्लाहकारको रूपमा पनि काम गरे।

२०१७ मा  शक्तिशाली बन्न राजकुमार सलमानले राजपरिवारका केही सदस्य र व्यापारीलाई पक्राउ गरेपछि उनी राजकुमार सलमानका आलोचक बने र स्वनिर्वासनमा निस्किए। राजपरिवारले उनलाई साउदी सञ्चारमाध्यममा लेख्न प्रतिबन्ध लगायो। अमेरिकाको ग्रिनकार्ड भएका खासोग्जी कहिले लण्डन, कहिले भर्जिनिया र कहिले इस्तानबुल बसे।

राज्य यति क्रुर हुन्छ, उसको स्वार्थअघि व्यक्तिको जीवनको कुनै मूल्य हुन्न। 

केही ‘गडबड’ भए फोन गर्नू भनेर खासोग्जीले आफ्नी प्रियतमालाई दिएको नम्बर काम नलाग्ने भएको छ। 

त्यो नम्बरको ‘भ्यालिडिटी’ खासोग्जीको जीवनसँगै सकिएको सायद सेन्गिजले पनि थाहा पाइसकेकी छन्।

अर्को दिन बिहे गर्ने सपना सजाएर साउदी महावाणिज्य दूतावास बाहिर कुरेकी सेन्गिजले उनको हत्यापछि ट्वीटरमा लेखिन्- उनीहरूले मेरो दुनियाँबाट तिम्रो भौतिक उपस्थिति खोसे। तर तिम्रो सुन्दर मुस्कान मेरो मनमा सधैंभरि रहिरहनेछ, मेरो प्रिय!
साभार: सेतोपाटि

Leave a Reply