वराहक्षेत्र (सुनसरी), भदौ ३ गते । कृषि व्यवसायका लागि उर्वर मानिने सुनसरी जिल्लामा सबैभन्दा बढी अण्डा र खसीको मासु उत्पादन भएको तथ्याङ्कले देखाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीको आर्थिक वर्ष ०७९-०८० को तथ्याङ्क अनुसार जिल्लामा दुई करोड ५१ लाख ३ हजार कुखुराको अण्डा उत्पादन भएको छ ।
पशु सेवा विज्ञ केन्द्र सुनसरीका निम्ति कार्यालय प्रमुख कुमार सिंह खत्रीका अनुसार कुखुरा पाल्ने किसानहरू बर्डफ्लु लगायतका रोगले गर्दा विस्थापित हुँदै जाँदा पनि गत वर्षभन्दा २.४२ प्रतिशतले यस वर्ष अण्डामा वृद्धि भएको बताउनुभयो ।
मासु उत्पादन जिल्लामै १२ हजार २ सय ५२ मेट्रिक टन उत्पादन भएको छ । यस वर्ष राँगाको मासु ५८ सय ४५ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष ५८ सय ०.५ मेट्रिक टन मासु उत्पादन भएको विज्ञ केन्द्र सुनसरीले जनाएको छ ।
खसीको मासु १५ सय ७८ मेट्रिक टन उत्पादन भएको छ भने गत वर्ष १५ सय ०.३ मेट्रिक टन उत्पादन भएको थियो । बङ्गुरको मासु १ हजार ६१ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष ११ सय ५७ मेट्रिक टन मात्रै उत्पादन भएको कार्यालय प्रमुख खत्रीले बताउनुभयो ।
जिल्लामा गत वर्ष कुखुराको मासु तीन हजार ७ सय ७१ मेट्रिक टन उत्पादन भएपनि यस वर्ष ३ हजार ७ सय ९८ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष ८.९ मेट्रिक टन उत्पादन भएको भेडाको मासु यस वर्ष ९ मेट्रिक टन उत्पादन भएको छ । बङ्गुरमा अफ्रिकन स्वाइनफ्लुले गर्दा गत वर्षभन्दा ८.३ प्रतिशतले मासु उत्पादनमा कमी आएको छ । खसी र राँगाको मासुमा ४.९९ प्रतिशतले वृद्धि भएको हो ।
दुध उत्पादनमा गत वर्षभन्दा १.४ प्रतिशतले कमी आएको छ । यस वर्ष एक लाख १४ हजार ९ सय ९३ मेट्रिक टन दुध उत्पादन भएको तथ्याङ्कले देखाएको छ । गत वर्षभन्दा दुधमा २.३ प्रतिशतले वृद्धि हुने लक्ष्य राखेपनि लम्की स्किन रोगका कारण दुध उत्पादनमा कमी भएको पशु सेवा विज्ञ केन्द्र सुनसरीका निम्ति कार्यालय प्रमुख कुमार सिंह खत्रीले जानकारी दिनुभयो।
माछा उत्पादनमा यस वर्ष तीन हजार २ सय ३७ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष ३ हजार १ सय ४७ मेट्रिक टन माछा उत्पादन भएको थियो । जिल्लामा हासको मासु यस वर्ष २ हजार ८ सय मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष २ हजार ७ सय मेट्रिक टन हासको मासु उत्पादन भएको विज्ञ केन्द्र सुनसरीले जनाएको छ ।
जिल्लाको दक्षिण क्षेत्रमा ऊन र मासु उत्पादनका लागि ३ हजार भेडा व्यावसायिक रूपमै पालन हुने गरेको छ । जिल्लामा उत्पादित भएको पशुजन्य उपजहरू जिल्ला बाहिर कति निकासी हुन्छ भन्ने तथ्याङ्क भने छैन ।
साभार : गोरखापत्र अनलाइन