दिलकुमार पाख्रीन/७ अगस्ट, कुवेत। वैदेशिक रोजगारिको सिलसिलामा कुवेतलाइ कर्मथलो बनाउन आइपुगेका दुई जना महिला घरेलु कामदारहरुको उपचारको क्रममा आदान हस्पिटलमा मृत्यु भएको छ। मृत्यु हुनेहरुमा मकवानपुर हेटौंडा पदमपोखरीका पासपोर्ट नम्बर ०९०४१४५३ रहेका ४० बर्षिय मायादेबी थिङ र चितवन भरतपुरका नागरिकता नम्बर १०२५/५७४९ वाहक दिलकुमारी तामाङ रहेको खुलेको छ।
विगत केही समय पहिले उनिहरु घरेलु कामदारको रुपमा कुवेत आएका बुझिएको छ। तर घरमालिकको घरबाट भागेर अवैधानिक हैसियतमा बसोवास गर्दै आएका उनिहरु बिरामी भएर लगभग एक महिना देखि उपचारका लागि आदान हस्पिटलमा पुगेका थिए। उनिहरु उपचारको क्रममा गत शनिबार मध्य राती मृत्यु भएको नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष नारायण घलान र सचिब पासाङ थोकरले परदेशी खबरलाई जानकारी दिएका छन ।
मृतकहरुको बारेमा नेपाल राजदूतावास कुवेतमा बुझ्दा पुरा जानकारी आई नसकेको दूतावासले जनाएको छ ।
मकवानपुरकी मायादेवी ७ महिनासम्म कुवेतीको घरमा काम गरेको र त्यस पछि अवैधानिक रुपमा कुवेत रहेको र केही समय देखि पेट र मृगौला रोगबाट बिरामी भएको श्रोत बताउछन् । उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि आदान हस्पिटलमा कसैले भर्ना गरी दिएको जानकारी प्राप्त भएको छ । मृतकको साथमा केही कागाजात नभएको र कस्ले र कसरी अस्पतालमा भर्ना गरी दियो सबै विवरण खुल्न अझै बाँकी रहेको छ ।
चितवन भरतपुरकी दिलकुमारी तामाङको मृत्युको कारण अझै खुल्न सकेको छैन ।